६४ अंकले बढ्यो सेयर बजार, कारोबार २१ अर्ब नाघ्यो

बिहीबार नेप्से परिसूचक ६४.६९ अंक बढेर २८७७.०३ विन्दुमा पुगेको छ । आज ३४२ स्टकको १ लाख ९१ हजार २५१ पटकको कारोबारमा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँबराबरको ५ करोड ६९ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंक बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ६४.६९ अंक बढेर २८७७.०३ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि उल्लेख्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १२ अर्ब ३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३४२ स्टकको १ लाख ९१ हजार २५१ पटकको कारोबारमा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँबराबरको ५ करोड ६९ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । चार कम्पनीका सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरका लगानीकर्ताले उच्च प्रतिफल पाएका छन् । होटल फरेष्ट इन करिब १० प्रतिशतले बढ्दा सान्जेन जलविद्युत पनि उल्लेख्य उकालो लागेको छ । नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमूल्य आज सर्वाधिक ५.१२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ, जसको ६७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । त्यसपछि नेशनल हाइड्रोपावर र रिडी हाइड्रोपावरमा उच्च कारोबार देखिएको छ । आज २४० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने २ को स्थिर रह्यो ।