अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा निर्धक्क भएर लगानी गर्न रास्वपा सभापति लामिछानेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको निजी क्षेत्र, गैरआवासीय नेपाली (डायस्पोरा) र अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको निजी क्षेत्र, गैरआवासीय नेपाली (डायस्पोरा) र अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । नयाँ दल र नयाँ अनुहारहरू सत्ता र शक्तिमा आउँदा अर्थतन्त्र र लगानीको वातावरणमा कुनै नकारात्मक असर नपर्ने भन्दै उनले सबैलाई आश्वस्त पारेका हुन् । मुलुकको आर्थिक समृद्धिलाई आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाएको बताउँदै लामिछानेले निजी क्षेत्रलाई कतै पनि विचलित नहुन आग्रह गरे । देश निर्माणको महान अभियानमा विदेशमा रहेका नेपालीहरूको पुँजी र सीप आवश्यक रहेको भन्दै उनले डायस्पोरालाई नेपालमै आएर काम गर्न अपिल गरे । यसैगरी, अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लक्षित गर्दै उनले नेपाल लगानीका लागि सुरक्षित गन्तव्य भएको बताए।उनले देशमा उद्योग कलकारखाना चल्नुपर्ने, रोजगारी सिर्जना हुनुपर्ने र सुशासनमा नयाँ मानक स्थापना गर्दै आर्थिक समृद्धिको बाटोमा अहोरात्र काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधिलाई तीव्रता दिनु रास्वपाको प्रमुख दायित्व भएको उनको भनाइ छ।