हामीमा फाटो ल्याउन विभिन्न समूहको बिगबिगी छ- सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ सरकार गठन नहुँदै पार्टीभित्र फाटो ल्याउन विभिन्न समूहहरू लागेको बताएका छन् ।
नवनिर्वाचित सांसदहरूको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरू मिल्न नसके र स्वार्थको बन्दी बने समस्याहरू आउने बताउँदै पार्टीभित्र फाटो ल्याउन विभिन्न समूहहरू लागेको बताएका हुन् । उनले भने, ‘नयाँ सरकार गठन नभईकन हामीमा फाटो ल्याउन विभिन्न समूहको बिगबिगी छ ।’
उनले नवनिर्वाचित सांसदहरूलाई जथाभावी अभिव्यक्तिहरू नदिन र पार्टीको अनुशासनमा बस्न आग्रह गरे । मतदाताले दिएको प्रत्येक मतको इज्जत हुनुपर्ने बताउँदै यसको सम्मान गर्नु नवनिर्वाचित सांसदहरूको कर्तव्य भएको उनले स्मरण गराएका थिए । उनले भने, ‘जुन आशा र अपेक्षाका साथ मतदाताले हामीलाई जिताउनु भएको छ, यसको जिम्मेवारीबोध तपाईँहरूमा हुनुपर्छ ।’
सो अवसरमा अहिलेसम्म कसैलाई मन्त्री बनाउने विषयमा छलफल नभएको स्पष्ट गर्दै उनले पार्टीलाई सबै सांसदको मिहिनेत र भूमिका स्पष्टसँग जानकारी रहेकाले मन्त्री बन्न घरदैलो र मिडियाबाजी नगर्नसमेत चेतावनी दिए ।
पार्टी अनुशासनमा नबसेमा 'राइट टु रिकल' (Right to Recall) को व्यवस्था रहेको सम्झाउँदै उनले यसलाई कडाइका साथ लागू गर्ने बताए । यो देश अहिले नबने कहिल्यै नबन्ने बताउँदै, पुराना दल र नेताहरूको योगदानको सम्मान गरेर अब देशको भविष्य आफूहरूले बनाउने उनले बताए ।
मङ्गलबारदेखि सुरु भएको रास्वपाका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रम आज सकिँदैछ ।