निर्जीवन बीमा कम्पनीको व्यवसाय १३% ले बढ्यो, ७ महिनामा कुन कम्पनीले कति गरे व्यापार ?
जेन–जी आन्दोलन र विभिन्न बाढीपहिरोको क्षतिकाबीच निर्जीवन बीमा कम्पनीहरुले बीमा व्यवसाय विस्तार गरेका हुन् । खासगरि बाढीपहिरो र जेन–जी आन्दोलनपछि सर्वसाधारणहरु बीमाप्रति सकारात्मक बन्दै गएको बताईन्छ ।
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिना (माघ)सम्म २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले सात महिनामा अघिल्लो वर्षको २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँको तुलनामा १३.४५ प्रतिशत व्यवसाय बढाएका हुन् ।
जेन–जी आन्दोलन र विभिन्न बाढीपहिरोको क्षतिकाबीच निर्जीवन बीमा कम्पनीहरुले बीमा व्यवसाय विस्तार गरेका हुन् । खासगरि बाढीपहिरो र जेन–जी आन्दोलनपछि सर्वसाधारणहरु बीमाप्रति सकारात्मक बन्दै गएको बताईन्छ । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसायलाई मुलुकभर विस्तार गरेका छन् ।
यसअवधिमा शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले सर्वाधिक बीमा शुल्क उठाएका छन् । तर, बृद्धिदरका हिसावमा भने हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स अघि छन् । विवरणअनुसार माघसम्ममा शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले बृद्धि गर्दै तीन अर्ब ३२ करोड चार लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
त्यस्तै सलिकोले दुई अर्ब ९८ करोड ९६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब ८३ करोड ९३ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब ५१ करोड ४९ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले दुई अर्ब ३८ करोड ६ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले दुई अर्ब १८ करोड रुपैयाँ बराबरको बीमा शुल्क उठाएका छन् ।
समीक्ष अवधिमा नेको इन्स्योरेन्सले दुई अर्ब १५ करोड १५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले एक अर्ब ७५ करोड ७३ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सले एक अर्ब ६८ करोड ७५ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले एक अर्ब ६० करोड १४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले एक अर्ब ३४ करोड, प्रभु इन्स्योरेन्सले एक अर्ब सात करोड ८ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७९ करोड ९६ लाख रुपैयाँको कुल बीमा शुल्क उठाएको छ ।