चुनावमा खटिने २ लाख १३ हजार कर्मचारीलाई २० लाखको सामूहिक दुर्घटना बीमा, क-कसले पाउँछन् सुविधा ?
दावी भुक्तानीका लागि सम्वन्धित घट्नाबारे खुलाउनुपर्ने र भुक्तानी दिन आयोगको सिफारिस अनिवार्य
फागुन २१ गतेको निर्वाचनमा आयोगले २ लाख १३ हजार कर्मचारी खटाएको र ती सबैको बीमा गरिएको छ । सबै बीमित कर्मचारीको बीमाशुल्क आयोगले नै व्योहोर्ने छ ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निर्वाचनमा खटिने प्रत्येक कर्मचारीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिनेगरि सामूहिक दुर्घट्ना बीमालेख विक्री गर्ने भएको छ । निर्वाचन आयोगसँगको साझेदारीमा कम्पनीले निर्वाचनलक्षित दुर्घटना बीमालेख जारी गरेको हो ।
कम्पनीले नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको हो । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन हुँदैछ । त्यही निर्वाचनमा आयोगले खटाउने कर्मचारीहरूका लागि सामूहिक दुर्घटना बीमालेख ल्याएको हो ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार फागुन २१ गतेको निर्वाचनमा आयोगले २ लाख १३ हजार कर्मचारी खटाएको र ती सबैको बीमा गरिएको छ । सबै बीमित कर्मचारीको बीमाशुल्क (प्रिमियम) आयोगले नै व्योहोर्ने छ ।
कम्पनीकाअनुसार सामूहिक दुर्घट्ना बीमालेखमा निर्वाचन अधिकृत, सहायक कर्मचारी, मतदान केन्द्रमा खटिने कर्मचारी, मतपेटिका व्यवस्थापनमा संलग्न जनशक्ति र निर्वाचनपछि मतगणनामा खटिने कर्मचारी समेटिने छन् । कुनै पनि दुर्घटना जस्तै झडप वा हिंसात्मक घटनाबाट हुने क्षति, निर्वाचनमा खटिएको अवस्थामा उत्पन्न स्वास्थ्यसम्बन्धी आकस्मिक समस्या र निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा आकस्मिक दुर्घटना भएर मृत्यु भएमा वा औषधी उपचार गर्नुपरेमा बीमालेखले जा्खिम बहन गर्नेछ ।
चुनावमा खटिने कर्मचारी निर्वाचनको पूर्वतयारीदेखि मतगणना सम्पन्न नहुन्जेलसम्म जोखिममा हुन्छन् । खासष्रि झडप, राजनीतिक तनाव, भीड व्यवस्थापन, लामो समयसम्म काम गर्नुपर्ने र मानसिक–शारीरिक थकानजस्ता कारणले जोखिम थपिने गर्दछ ।
कम्पनीकाअनुसार यो दुर्घट्ना बीमाको समयावधि न्यूनतम १५ दिन, ३० दिन वा अधिकतम ३ महिनासम्मको अवधि तोकिएको छ । कर्मचारी खटाइने समयअनुसार समयावधि फरक फरक हुनेछ । निर्वाचन तयारी चरणदेखि मतगणना सम्पन्न नहुन्जेलसम्मको जोखिम समेटिएको यो बीमालेखमा सहभागि हुने निर्वाचन आयोगको सिफारिस अनिवार्य चाहिन्छ । दावी भुक्तानीका लागि पनि सम्वन्धित घट्नाबारे खुलाउनुपर्ने र भुक्तानी दिन आयोगको अनिवार्य सिफारिस चाहिन्छ ।