राष्ट्र बैंकले ८७ दिने ३० अर्ब निक्षेप प्रशोचन गर्दै, ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण

निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते हुने छ । निक्षेप दिन चाहने वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्न लागेको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न निक्षेप प्रशोचन गर्न लागेको हो ।

राष्ट्र बैंकले ८७ दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । राष्ट्र बैंकले विभिन्न विशेषता एवं सर्तहरू कायम गरी निक्षेप संकलनको बोलकबोल तथा निष्कासन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते हुने बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ ।