नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो ८.२५ प्रतिशत लाभांश, बोनस र नगद कति ?

नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ५५२औँ बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशअनुसार सेयरधनीले ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश पाउनेछन् । नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समेटिएको बैंकले जनाएको छ ।

बैंकको हाल कायम ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३९० रुपैयाँ ७२ पैसा चुक्ता पुँजीका आधारमा लाभांश वितरण गर्न लागिएको हो ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि बैंकले नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि उक्त प्रस्ताव आगामी ३३औँ वार्षिक साधारणसभामा पेस गरिनेछ ।

साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले बोनस तथा नगद लाभांश प्राप्त गर्नेछन् ।