चुनाव मुख्य एजेण्डा भएकाले अन्य क्षेत्रको विकासमा अपेक्षित ध्यान पुगेनः अर्थमन्त्री खनाल

दिगो, समावेशी र जिम्मेवार पर्यटन अभ्यासमार्फत नेपालको अमूल्य प्राकृतिक सम्पदा र समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने दिशामा सरकार निरन्तर काम गरिरहेको छ ।

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्नुपर्ने वाध्यताका कारण अन्य क्षेत्रमा काम गर्न नसकिएको स्वीकारेका छन् । थुप्रै चुनौती र संशयकाबीच निर्वाचनको वातावरण निर्माण भएको बताउँदै अर्थमन्त्री खनालले जेनजी आन्दोलनपछि बनेको सरकारलाई निर्वाचन सम्पन्न गराउनेदेखि अन्य धेरै चुनौति रहेपनि संयमतापूर्वक सबैको बिचारलाई सुन्दै तोकिएको समयमा निर्वाचन हुने वातावरण निर्माण गरिएको दावी गरे ।

पर्यटन बोर्ड र परिसूचक मिडिया (हाम्रोअर्थ डटकम) ले शुक्रबार ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा अर्थमन्त्री खनालले भने, ‘सरकारले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्दा अन्य विभिन्न क्षेत्रमा प्रयाप्त ध्यान दिन सकिएन ।’ 

पर्यटन क्षेत्रलाई उद्योगले पाएको सरोकारको सुविधा दिइने विषय बजेटमा समेटिएको भन्दै अर्थमन्त्री खनालले वर्तमान सरकारले आफूहरुलाई सुम्पिएको भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने जिम्मेवारी पुरा गर्दै कतिपय अन्य सुधारका कामहरु पनि भएको दावी गरे । वर्तमान सरकारले सुरु गरेका सुधारका कामहरुलाई अव बन्ने सरकारले पनि अपनत्व लिन सक्ने गरि कार्यविधि र नियममा परिवर्तन गरिएको अर्थमन्त्री खनालको भनाई छ ।

अर्थ मन्त्री खनालले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड रहेको र पर्यटनले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र समग्र आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार दिगो, समावेशी र जिम्मेवार पर्यटन अभ्यासमार्फत नेपालको अमूल्य प्राकृतिक सम्पदा र समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने दिशामा सरकार निरन्तर काम गरिरहेको छ । नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा कसरी अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने भन्ने विषयमा प्राप्त सुझावहरू अत्यन्त महत्वपूर्ण छन्, मन्त्री खनालले भने ।

अर्थमन्त्री खनालले पछिल्लो समय जेन–जी आन्दोलनपछि मुलुकमा देखिएका विभिन्न आशंका र अन्योललाई वर्तमान सरकारले सफलतापूर्वक सम्बोधन गर्न थालेको दाबी गरे। सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरह विकास गर्ने नीति अघि बढाएको उल्लेख गर्दै उनले भ्रष्टाचार न्यूनिकरण, सुशासनको कार्यान्वयन र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

उनले सरकारका यी उपलब्धिहरूलाई संस्थागत गर्दै अर्थतन्त्रका सबै क्षेत्रलाई समान रूपमा अघि बढाउनेतर्फ सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। यद्यपि, निर्वाचनमा होमिएका राजनीतिक दलहरूबीच वर्तमान सरकारले ठोस काम गर्न सक्छ कि सक्दैन भन्ने संशय रहेको उल्लेख गर्दै मन्त्री खनालले आफ्ना कार्यकालमा भएका आर्थिक सुधारका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। ‘आफ्नो कार्यकालमा गर्न सकिने कामहरू म आफैं सम्पन्न गर्छु,बाँकी रहेका योजनाहरू आगामी दिनमा आउने अर्थमन्त्रीलाई जिम्मेवारीका साथ हस्तान्तरण गरेर जानेछु,’ उनले भने