नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न, निर्वाचनको ७२ घण्टा अघि नाका पूर्ण बन्द गरिने
बैठकले फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सबै प्रमुख तथा सहायक सीमा नाका ‘सील’ गर्ने सहमति गरेको छ । अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवागमनमा पूर्ण रोक लगाइने सुरक्षा अधिकारीहरूले बताएका छन् ।
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत खुला सीमामा अभूतपूर्व कडाइ गरिने भएको छ । निर्वाचनको ७२ घण्टा अघि नै सीमा नाका पूर्ण रूपमा बन्द गर्ने निर्णयसहित बिहीबार विराटनगरमा नेपाल–भारत संयुक्त सुरक्षा बैठक सम्पन्न भएको हो ।
बैठकले फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सबै प्रमुख तथा सहायक सीमा नाका ‘सील’ गर्ने सहमति गरेको छ । अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवागमनमा पूर्ण रोक लगाइने सुरक्षा अधिकारीहरूले बताएका छन् । खुला सीमाका कारण निर्वाचन अवधिमा हुनसक्ने अवाञ्छित गतिविधि, अवैध चलखेल, आपराधिक गतिविधि तथा मतदातामाथि प्रभाव पार्ने प्रयास रोक्न यस्तो कठोर रणनीति अपनाइएको हो ।
भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेश का झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग सीमाना जोडिएका भारतका किशनगञ्ज, अररिया र सुपौल का सुरक्षा अधिकारीहरूबीच भएको बैठकले निर्वाचन अवधिभर संयुक्त निगरानी, गस्ती तथा सूचनाको आदान–प्रदान सुदृढ गर्ने निर्णय गरेको हो ।
बैठकमा सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, नगद तथा मदिरा तस्करी, हतियार प्रवेश, आपराधिक समूहको आवागमन तथा राजनीतिक चलखेललाई कडाइका साथ नियन्त्रण गर्ने विषयमा विशेष छलफल भएको स्रोतले जनाएको छ । दुवै देशका सुरक्षा निकायबीच प्रत्यक्ष समन्वय संयन्त्र सक्रिय पार्ने, आकस्मिक सूचना आदान–प्रदानलाई तीव्र बनाउने तथा आवश्यक परे संयुक्त गस्तीसमेत सञ्चालन गर्ने समझदारी बनेको छ ।