बीवाइडीले सन् २०२६ मा नयाँ 'सिलायन-०६' (Sealion-06) प्लग-इन हाइब्रिड सार्वजनिक गर्ने
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी बीवाइडी (BYD) ले सन् २०२६ को सुरुवातमा नयाँ प्लग-इन हाइब्रिड इलेक्ट्रिक भेइकल (PHEV) 'सिलायन ०६' सार्वजनिक गर्ने भएको छ। कम्पनीले यसको अपग्रेडेड भर्सनमा १७५ किलोवाट (करिब २३५ हर्सपावर) को शक्तिशाली इलेक्ट्रिक मोटर दिएको छ, जुन अहिले बजारमा रहेको १६० किलोवाट मोटरभन्दा १५ किलोवाटले बढी हो।
नयाँ मोडलको सबैभन्दा आकर्षक विशेषता भनेको यसको इलेक्ट्रिक रेन्ज हो। बीवाइडीले दाबी गरेअनुसार सिलायन ०६ ले एक पटकको फुल चार्जमा २२० किलोमिटर (CLTC) सम्मको यात्रा गर्न सक्छ। यसको अर्थ दैनिक ४०-५० किलोमिटर कार्यालय आउजाउ गर्ने उपभोक्ताले हप्ताभर पेट्रोल नै नछोइकन गाडी चलाउन सक्नेछन्। ब्याट्री सकिएपछि गाडीमा रहेको १.५ लिटरको पेट्रोल इन्जिनले स्वचालित रूपमा चार्जिङको काम गर्छ, जसले गर्दा लामो यात्रामा पनि ब्याट्री सकिने चिन्ता हुँदैन।
बीवाइडीले यो गाडीलाई किफायती बनाउन विशेष ध्यान दिएको छ। इलेक्ट्रिक मोडमा यसले प्रति १०० किलोमिटरमा १७.१ किलोवाट विद्युत् मात्र खपत गर्छ। ब्याट्री सकिएर पेट्रोल इन्जिन सक्रिय भएको अवस्था (चार्ज डिप्लिटिङ मोड) मा यसले १०० किलोमिटरमा जम्मा ४.६ लिटर पेट्रोल खपत गर्ने कम्पनीले जनाएको छ। अहिलेको पेट्रोल मूल्यलाई हेर्दा यो अत्यन्तै कम खर्चिलो विकल्प हुने देखिन्छ।
सुरक्षाको कुरा गर्दा बीवाइडीले यस मोडलमा आफ्नो सबैभन्दा उन्नत चालक सहायता प्रणाली 'गड्स आइ सी' (God's Eye C) उपलब्ध गराएको छ। यसलाई अझ प्रभावकारी बनाउन कम्पनीले लिडार (LiDAR) को विकल्प पनि दिएको छ। लिडार प्रविधिले लेजरको मद्दतले सडकको त्रिआयामिक नक्सा बनाउँछ, जसले रातको समयमा वा हुस्सु लागेको बेला पनि अगाडिका बाधा, मानिस वा सवारीलाई सजिलै पहिचान गरेर दुर्घटनाबाट बचाउँछ।
चीनमा गत वर्ष जुलाईमा सार्वजनिक भएको सिलायन ०६ तीन महिनामै एक लाख युनिट बिक्री भएर निकै लोकप्रिय भइसकेको छ। चीनमा यसको हालको मूल्य करिब ९९,००० युआन (करिब १८ लाख ८० हजार नेपाली रुपैयाँ) रहेको छ। नयाँ फिचरसहितको अपग्रेडेड मोडलको मूल्य करिब ५,००० युआन (करिब ९५ हजार नेपाली रुपैयाँ) ले बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हाल बीवाइडीले नेपालमा 'सील' र 'एटो ३' जस्ता मोडल बिक्री गरिरहेको छ। यस आधारमा सिलायन ०६ पनि नेपाली बजारमा भित्रिने सम्भावना रहेको छ। यसले लामो दूरीको यात्रा गर्ने र कम खर्चिलो सवारी खोज्ने नेपाली उपभोक्ताका लागि आकर्षक विकल्प बन्न सक्ने देखिन्छ।