'भ्यालेन्टाइन डे' आज: साढे पाँच करोडको गुलाबको व्यापार हुने अनुमान, भारतीय फूलमै निर्भर नेपाली प्रणय दिवस

प्रणय दिवसमा विशेष रूपमा रातो गुलाब दिने चलन विश्वभर प्रचलित छ । रातो गुलाबलाई प्रेम, समर्पण र आकर्षणको प्रतीक मानिन्छ । त्यसैले यस अवसरमा गुलाबको माग अत्यधिक बढ्ने गर्दछ ।

काठमाडौं । आज अर्थात् फेब्रुअरी १४ अर्थात् 'भ्यालेन्टाइन डे' । प्रेमी–प्रेमिकाहरूका लागि विशेष अवसर । आफ्ना अव्यक्त भावनाहरू साटासाट गर्ने दिन । अझ त्यसैमाथि नेपालमा शनिबारको बिदा । प्रेमी–प्रेमिकाहरू विद्यालय, क्याम्पस वा कार्यालय जानु नपर्ने सरकारी बिदाले मिलाएको विरलै संयोग ।

प्रेमी–प्रेमिकाहरूले एकअर्काबीच आफ्नो अव्यक्त प्रेम व्यक्त गर्ने, मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने विशेष अवसरका रूपमा भोलि भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइन्छ । विश्वभर मनाइने प्रेम दिवसमा उपहार, कार्ड, चकलेट, फूल तथा अन्य प्रेमका प्रतीक सामग्री दिएर एकअर्काबीच प्रेम साटासाट गर्ने चलन छ । पछिल्ला वर्षहरूमा नेपालमा पनि युवायुवतीहरूले प्रणय दिवसलाई उत्सवका रूपमा मनाउन थालेका छन् ।

'भ्यालेन्टाइन डे' का दिन वा एक दिन अगाडिदेखि नै विशेषगरी गिफ्ट पसल र फूल पसलहरूमा युवायुवतीहरूको भीड लाग्ने गर्दछ । जोडी अंकित मूर्ति, चकलेट, टेडी बियर, कार्ड तथा मायाको प्रतीक जनाउने उपहार खरिद गर्नेहरूको संख्या ह्वात्तै बढेको पाइन्छ । यस दिवसका अवसरमा करोडौँ रुपैयाँ बराबरको व्यापार हुने गरेको व्यवसायीहरू बताउँछन् ।

प्रणय दिवसमा विशेष रूपमा रातो गुलाब दिने चलन विश्वभर प्रचलित छ । रातो गुलाबलाई प्रेम, समर्पण र आकर्षणको प्रतीक मानिन्छ । त्यसैले यस अवसरमा गुलाबको माग अत्यधिक बढ्ने गर्दछ ।


७० प्रतिशत गुलाब भारतबाट आयात हुने अनुमान

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्षको प्रणय दिवसका लागि बजारमा आवश्यक पर्ने गुलाबमध्ये करिब ७० प्रतिशत गुलाब भारतबाट आयात हुने अनुमान गरिएको छ ।

एसोसिएसनका अनुसार प्रणय दिवस सप्ताहभर करिब ४ लाख ५० हजार स्टिक गुलाब खपत हुनेछ । यसमध्ये काठमाडौं उपत्यकामा २ लाख ७० हजार स्टिक र उपत्यका बाहिरका जिल्लाहरूमा १ लाख ८० हजार स्टिक गुलाबको माग रहने बताइएको छ । तर बजार मागको करिब ३० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट पूर्ति हुने र बाँकी ठूलो हिस्सा आयातबाट पूरा हुने अवस्था छ ।


५ करोड ६२ लाख रुपैयाँको गुलाबको कारोबार हुने

प्रणय दिवस सप्ताहभर गुलाबको खरिद–बिक्रीबाट मात्रै करिब ५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको एसोसिएसनले जनाएको छ । फूलको गुणस्तर अनुसार प्रति स्टिक गुलाबको उपभोक्ता मूल्य १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म पर्ने गर्दछ ।

नेपालमा मौसम अनुकूल हुँदा मात्र गुलाब उत्पादन हुने भएकाले जाडो मौसममा स्थानीय उत्पादन कम हुने गर्दछ । फेब्रुअरी महिनाको मध्यतिर पर्ने प्रणय दिवसको समयमा नेपालमा चिसो मौसम रहने भएकाले गुलाब फूलको उत्पादनमा कमी आउने एसोसिएसनले जनाएको छ ।

गत वर्ष प्रणय दिवस सप्ताहमा ३ लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको भए पनि वास्तविक खपत ४ लाख १२ हजार स्टिक पुगेको तथ्यांक छ । गत वर्ष प्रणय दिवस मनाइएको साताभर करिब ४ करोड रुपैयाँ बराबरको गुलाब कारोबार भएको थियो । गत वर्ष २५ प्रतिशत आन्तरिक उत्पादन र ७५ प्रतिशत आयातित गुलाबले माग पूरा गर्ने अनुमान गरिएकोमा आन्तरिक उत्पादन केवल ८.५० प्रतिशतमा प्रयोग भएको थियो भने आयातबाट ९१.५० प्रतिशत माग धानिएको थियो । गत वर्ष प्रति स्टिक गुलाबको मूल्य ८० रुपैयाँदेखि १२० रुपैयाँसम्म थियो ।


सामान्य दिनमा पनि गुलाबको माग

'भ्यालेन्टाइन डे' मा मात्र होइन अन्य चाडपर्व र त्यसबाहेकका सामान्य दिनमा पनि नेपालमा प्रतिदिन सरदर ८ देखि १२ हजार स्टिक गुलाब फूल बिक्री हुने गरेको पाइन्छ । गत वर्ष वार्षिक करिब ४ लाख २५ हजार स्टिक गुलाबको कारोबार भएको थियो । नेपालमा गुलाबको व्यावसायिक खेती काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक र रुपन्देही लगायतका जिल्लामा हुँदै आएको छ भने अन्य जिल्लाहरूमा पनि यसको विस्तार भइरहेको एसोसिएसनले जनाएको छ ।


'भ्यालेन्टाइन डे' किन मनाइन्छ ?

'भ्यालेन्टाइन डे' को औपचारिक सुरुवात रोमनकालीन इतिहाससँग जोडिएको छ । सन् २६९ तिर रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।

सम्राटको विश्वासअनुसार प्रेम र विवाहले सैनिक कमजोर बनाउँछन् र युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिरिन सक्छ । तर रोमनका पादरी सन्त भ्यालेन्टाइनले सम्राटको नियमको विरोध गर्दै प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकहरूको विवाह गराइदिए । आफ्नो आदेश उल्लंघन गरेको आरोपमा सम्राटले सन्त भ्यालेन्टाइनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाए र सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । त्यसपछि सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक वर्ष फेब्रुअरी १४ लाई प्रेम दिवस अर्थात् 'भ्यालेन्टाइन डे' को रूपमा मनाइन्छ ।