सानिमा बैंकका सीईओ आचार्यले सम्हाले जिम्मेवारी

सीईओको जिम्मेवारी सम्हाल्नु अघि आचार्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सानिमा बैंकमा लामो सेवाकालका दौरान आचार्यले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरिसकेका छन् ।

काठमाडाैं ।  सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले सोमबार पदभार ग्रहण गरेका छन् ।२०८२ कात्तिक २४ गते बसेको बैंक सञ्चालक समिति बैठकले आचार्यलाई सीईओ नियुक्त गरेको थियो । सोही निर्णयबमोजिम आचार्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

आचार्यले विगत २१ वर्षदेखि सानिमा बैंकमा निरन्तर सेवा गर्दै बैंकको विकास र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एमएनआईटी, जयपुरबाट इन्जिनियरिङमा स्नातक आचार्यले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो हुँदै उत्तीर्ण गरेका थिए ।

सीईओको जिम्मेवारी सम्हाल्नु अघि आचार्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सानिमा बैंकमा लामो सेवाकालका दौरान आचार्यले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरिसकेका छन् ।

आचार्यको प्रमुख कार्यक्षेत्र कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्तमा केन्द्रित रहेको छ । उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा समेत अध्यक्षका रुपमा काम गरिसकेका छन् । बैंकिङ क्षेत्र बाहेक आचार्यसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ ।