जेनजी आन्दोलनको त्रास छिचोल्दै अघि बढ्यो सेयर बजार, पौने १४ अर्बको कारोबार
नेप्से २७७२.१७ अंकमा रोकिँदा भदौ १२ को उचाईलाई पछ्यायोे
एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार उच्च अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुगेको छ । गत सातादेखी नै बृद्धिको पक्षमा देखिएको नेप्से आइतबार झन् उच्च अंकले बढेको हो । नेप्से बढ्दै गर्दा २०८२ भदौ १२ गतेको उचाई हाराहारी पुगेको छ । त्यसदिन नेप्से २७८१ अंकमा रोकिएको थियो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि निरन्तर खस्किएको नेप्से २०८२ पुस ७ गते पछिल्लो समयकै न्यून २५८१.२१ अंकसम्म झरेको थियो । तर, विस्तारै फागुन २१ मा आमनिर्वाचन हुने निश्चिचता देखिएसँगै पछिल्लो समय नेप्सेमा चमक देखिँदै आएको छ । पुस ७ मा न्यून विन्दु समाएपछि अधिकतर नेप्से बढ्ने र न्यून रुपमा घट्ने हुँदै एक महिनाको अवधिमा करीव २०० अंकले बढेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आइतबार १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँबराबरको सेयर खरिद विक्री भएको छ । यसअघि गत साता माघ ६ गते ११ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यसअघि २०८२ साउन १५ मा १५ अर्ब ३५ करोडको सेयर कारोबार भएको थियो भने साउन १८ गते १२ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
आइतबार १३ वटै समूह सूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन समूह सूचक सर्वाधिक ३.३५ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह सूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
आइतबार ९ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको १०.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर २०८५ को मूल्य सर्वाधिक ५.८० प्रतिशत घटेको छ ।