६ महिनामा राष्ट्रिय वाणिज्य बैंकको नाफा पौने २ अर्ब
बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा एक खर्ब ३९ अर्ब रुपैयाँबराबरको लगानीयोग्य रकम देखिएतापनि पुँजी पर्याप्तताका आधारमा थप १८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाहका लागि योग्य छ ।
काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको छ महिनासम्मको अपरिस्कृत विवरण अनुसार निष्क्रिय कर्जा ४.५५ प्रतिशत तथा नाफा एक अर्ब ७५ करोड रुपैयाँ भएको जनाएको छ ।
६१औँ वार्षिकोत्सवका अवसरमा बैंकमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए । हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ, ढकालले भने ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए । कर्जा प्रवाह बढाउनु चुनौतीपूर्ण भएको स्वीकार्दै खनालले भने, बैंकको पुँजीको आधार सुदृढ बनाउन तीन खर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको तयारी भईरहेको छ । बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा एक खर्ब ३९ अर्ब रुपैयाँबराबरको लगानीयोग्य रकम देखिएतापनि पुँजी पर्याप्तताका आधारमा थप १८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाहका लागि योग्य छ ।
कार्यक्रममा दिइएको जानकारीअनुसार बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ छ ।