नेपाल एयरलाइन्सद्वारा ४ जहाजको ऋण किस्ताबापत तिर्यो ५३ करोड
निगमले मङ्गलवार दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिरेको हो ।
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स-नेवानि) लेे जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले मङ्गलवार दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिरेको हो ।
निगमका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि ल्याइएका दुई न्यारोबडी जहाजको पुससम्मको किस्ता र दुई वाइडबडी जहाजको हकमा आंशिक किस्ता भुक्तानी भएको छ । त्यस्तै निगमले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापन र दायित्व स्पष्टीकरणका विषयमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका उच्च अधिकारीहरूसँग छलफल समेत गरेको छ । दुवै पक्षबीच लामो समयदेखिको संवादहीनता तोड्दै संस्थाका उच्च अधिकारीहरूको टोलीले दुवै कोषका शीर्ष अधिकारीहरूसँग विस्तृत छलफल गरेको बताइएको छ ।
छलफलमा ऋण रकम निरन्तर बढ्दै गएकाले बक्यौता रकमको वास्तविकता मिलाएर एकरूप अभिलेख बनाउने, ब्याज मिनाहा वा छुटका सम्भावित विकल्प यकिन गर्ने तथा ऋण तिर्ने तालिका पुन: समायोजन गर्नेजस्ता विषयमा गम्भीर छलफल भएको थियो ।