आशंकाहरु चिर्दै आमचुनावमा होमियो देश, आज देशैभर प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता
तडकभडक नगरी आवश्यक कागजात लिएर निर्वाचन कार्यालय पुग्न उम्मेद्वार र दलहरुलाई आयोगको अपिल
पछिल्लो समय नेपाली कांग्रेसमा देखिएको कलहले निर्वाचन सर्ने हो कि भन्ने आशंका उब्जिएको थियो । तर, पुर्व सभापति शेरबहादुर देउवा समूह शान्त बसेसँगै निर्वाचन हुने निश्चित भएको हो ।
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरि उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिएको छ ।
आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । एकअर्को राजनीतिक दलबीच टकराव नआओस, भीडभाड कम होस र उम्मेदवारी दर्ता सहज होस् भन्ने उद्देश्यबाट प्रेरित भएर आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत तोकिदिएको छ ।
आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनको मिति तय गरेको हो । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सरकारले अगाडी बढाईसकेको छ । अधिकांश राजनीतिक दलले पनि उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म छनोट गरिसक्ने बताइएको छ । पछिल्लो समय नेपाली कांग्रेसमा देखिएको कलहले निर्वाचन सर्ने हो कि भन्ने आशंका उब्जिएको थियो । तर, पुर्व सभापति शेरबहादुर देउवा समूह शान्त बसेसँगै निर्वाचन हुने निश्चित भएको हो ।
आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनमा उम्मेद्वारी दर्ताका लागि विभिन्न १३ किसिमका कागजात आवश्यक पर्ने जानकारी दिएको छ ।