प्रतिनिधिसभा चुनावका उम्मेदवारले १० हजार धरौटी राख्नुपर्ने, मनोनयन दर्ता गर्न चाहिन्छ १३ प्रकारका कागजात

महिला, दलित, अल्पसंख्यक र विपन्नलाई ५० प्रतिशत छुट

उम्मेदवारले स्वघोषणा पत्र, चल–अचल सम्पत्तिको विस्तृत विवरण, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, सेयर, ऋणसम्बन्धी विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्ने छ ।

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । तर, महिला, दलित, अल्पसंख्यक र विपन्नले धरौटी रकमा ५० प्रतिशत छुट पाउनेछन् ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायाणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर उम्मेदवारी दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातहरूबारे जानकारी दिएका छन् ।

जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ धरौटी राख्नुपर्छ । यसका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्छ । आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पेस गर्नुपर्छ ।

आगामी २१ फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय पर्सि (माघ ६ गते) छ । आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचनका लागि उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिसकेको छ । तोकिएका सबै कागजात पूरा नगरेमा उम्मेदवारको मनोनयन अमान्य हुन सक्ने भएकाले समयमै तयारी गर्न सबै सरोकारवालालाई आयोगले आग्रह गरेको छ ।

आयोगले उम्मेदवारले मनोनयन दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन नियमावली, २०७४, निर्वाचन निर्देशिका, २०८२ तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कागजात पेस गर्नुपर्ने जनाएको छ ।

यस्ता छन् आयोगले तोकेका कागजात

उम्मेदवारले मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

यस्तै नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा बहाल रहेको अवस्थामा उम्मेदवारी दिन चाहने व्यक्तिले उक्त पदबाट राजीनामा दिएको प्रमाण समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

दलको तर्फबाट उम्मेदवारी दिँदा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिबाट जारी गरिएको औपचारिक मनोनयन पत्र अनिवार्य गरिएको छ ।

त्यसै गरी उम्मेदवारले स्वघोषणा पत्र, चल–अचल सम्पत्तिको विस्तृत विवरण, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, सेयर, ऋणसम्बन्धी विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम बुझाउनुपर्नेछ । तर महिला, दलित, अल्पसङ्ख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा उक्त धरौटी रकममा ५० प्रतिशत छुट दिइनेछ । आर्थिक रूपमा विपन्न भएको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य हुनेछ ।

यसका साथै उम्मेदवारले आफूले लिएको कुनै पनि पेस्की फर्छ्यौट गरेको निस्सा, लेखा परीक्षणबाट कायम भएको बेरुजु फर्छ्यौट गरेको प्रमाण र निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिबद्धता पत्र समेत बुझाउनुपर्नेछ ।