एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, असोजदेखि नै बनेको थियो योजना

प्रहरीले सिन्धुलीमा एसबीआई बैंक लुटपाट गर्नेहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले बैंक लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा घरधनीकै संलग्नता खुलाएको हो । उनलाई सिन्धुली प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

काठमाडौं । प्रहरीले सिन्धुलीमा एसबीआई बैंक लुटपाट गर्नेहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पुस २९ गते घ्याङलेख गाउँपालिका_२ हायुटारमा रहेको एसबिआई बैंक शाखामा अज्ञात समूहले तीन करोड ७ लाख रुपैयाँ लुटेको थियो। प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई सार्वजनिक गरेको छ  पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका भागवत सिंह थापा, सिन्धुली घ्याङलेखका–२ का ४७ वर्षीय चतुरमान बज्यु, सोहीका ४४ वर्षीय छविलाल स्याङ्ताङ, चितवन भरतपुर–२ का २४ वर्षिय शशंका श्रेष्ठ, नुवाकोटका २३ वर्षीय मिलन गिरी, सोहीका विवेक मगर पक्राउ परेका हुन् । एक जना भने नाबालक रहेका छन् ।  पक्राउ परेकाहरुबाट नक्कली पेस्तोल, लुटपाट गर्न प्रयोग गरिएको लुगाकपडा तथा दुई थान खुकुरी समेत बरामत भएको छ ।

 घटनामा संलग्नमध्ये छविलाल उक्त बैंक रहेको घरका घरधनी रहेको खुलेको छ।  उनले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएका थिए । उनले सूचना आदान प्रदान पनि गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

लुटपाटको षड्यन्त्र २०८२ सालको असोज महिनादेखि नै बुनिएको थियो । उक्त समूहले पटक-पटक लुटपाट गर्न खोजे पनि असफल भएको प्रहरीको भनाइ छ । पुस २९ मा भने उनिहरु कोटेश्वरमा भेला भएर बनेपासम्म सार्वजनिक यातायातमा गएका थिए । बनेपाबाट टाटा सुमो रिजर्भ गरेर घटनास्थलमा पुगेका हुन् । बेलुका साढे ७ बजेतिर उक्त समूह खुकुरी र पेस्तोल बोकेर बैंक छिरेका थिए। 

नकाब लगाएका उनीहरूले बैंकका सुरक्षागार्ड रूद्रबहादुर कार्कीमाथि खुकुरी प्रहार गरी घाइते तुल्याएका थिए। त्यसपछि बैंक छिरेर त्यहाँबाट बोरा र झोलामा पैसा बोकेर जंगलतिर भागेका थिए। यो खबर पाएपछि प्रहरीको टोली बैंकमा पुगेको थियो। बैंकमा पुग्दा दुई वटा कोठामा कर्मचारी र सुरक्षागार्ड बाँधेर राखिएको अवस्थामा फेला परेको थियो। खोजतलासका क्रममा प्रहरीले घटनास्थलबाट २ किलोमिटर पूर्व लिपिखोलामा रिजर्भमा लगिएको टाटा सुमो र चालक भगवत सिंह थापालाई पक्राउ गर्यो । चालकको हुलियाका आधारमा रातभर जंगलमा चलाइएको सर्च अपरेसनका क्रममा जंगलका विभिन्न स्थानमा बोरामा लुकाइएको र छरपस्ट अवस्थामा रहेको १ करोड ८ लाख १० हजार ५०० रुपैयाँ उक्त रात राति नै बरामद भयो । यस्तै, पुस ३० गते बिहान घ्याङलेख–१ सुकाचुराबाट स्थानीयको सहयोगमा ४ जना शंकास्पद व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्यो । उनीहरूको साथबाट ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला पर्यो भने उनीहरूकै बयानका आधारमा जंगलमा लुकाइएको थप ८३ लाख ३५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको हो । हालसम्म प्रहरीले कुल २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरिसकेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा अन्य भने मजदुर हुन् । उनीहरु घरमा रंग लगाउने काम गर्ने गरेको खुलेको छ । आरोपीहरू विरुद्ध प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको  छ ।