सिन्धुलिस्थित लुटिएको एसबीआईको घरधनीका जेठान पक्राउ, अझै दुई जना फरार
चतुरमान बैंक रहेको घरका धनी छविलाल स्याङ्ताङका जेठान हुन् । घरधनी छविलाल पहिल्यै पक्राउ परिसकेका छन् ।
काठमाडौं । घ्याङलेख-२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने त्यहीँका बासिन्दा चतुरमान बैज्यु हुन् ।
चतुरमान बैंक लुटपाटका मुख्य योजनाकार रहेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । चतुरमान बैंक रहेको घरका धनी छविलाल स्याङ्ताङका जेठान हुन् । घरधनी छविलाल पहिल्यै पक्राउ परिसकेका छन् ।
चतुरमानलाई इलाका प्रहरी कार्यालय खुर्कोट र रातमाटा प्रहरी चौकीको संयुक्त चेकिङले नियन्त्रणमा लिएको हो । बैंक लुटपाट घटनामा प्रहरीले हालसम्म घरधनी छविलाल, घरधनी छबिलालका जेठान चतुरलाला, गाडी चालकसहित ५ जना पक्राउ गरिसकेको छ । अझै दुई जना फरार रहेको बताइएको छ ।
लुटेराहरुले त्यसदिन एसबीआई शाखाबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । राति लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको थियो ।