एसबीआई बैंकको हायुटार शाखा बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ, ३ करोड ११ लाख लुटेकोमा १ करोड ८० लाख बरामद

मंगलबार राति पाँच/ छ जनाको समूहले एसबीआई शाखाबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । राति लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ ।

काठमाडौं । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन ।

उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए । ‘४ जना पक्राउ परेका छन, थप जानकारी प्राप्त भएको छैन’, एसपी लालध्वज सुवेदीले भने । मंगलबार घट्नालगत्तै लुटपाटमा प्रयोग भएको गाडी र चालक पक्राउ परेका थिए । 

मंगलबार राति पाँच/ छ जनाको समूहले एसबीआई शाखाबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । राति लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भाग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको थियो ।

मंगलबार राति ८ : ४० बजेतिर ५/६ जनाको समूहमा आएका लुटेराहरूले बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाई बैंकका अन्य कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकको रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।