राष्ट्र बैंकद्वारा फेरी २५ अर्बको ऋणपत्र निष्कासन, कुल ऋणपत्र पुग्यो डेढ खर्ब बढी
बैंक तथा वित्तीय संस्थाले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् भने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपात गणनामा भने समावेश गर्न पाउनेछन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्कासन गरेको छ । राष्ट्र बैंकले १ वर्ष अवधिका लागि २५ अर्ब रुपैयाँरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ निष्कासन गरेको हो ।
ऋणपत्र खरिदका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणाली सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ । यसको निष्कासन आजै हुनेछ । ऋणपत्र २०८३ पुस २८ गते परिपक्व हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने व्यवस्था मिलाइएको छ । बैंक तथा वित्तीय संस्थाले यस ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । यस्तो लगानीलाई वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपात गणनामा भने समावेश गर्न पाउनेछन् ।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिनका लागि प्रयोग गर्न सक्नेछन्।
सूचना अनुसार बोलकबोलमा सहभागी हुँदा ब्याजदर दशमलव पछिको ४ अंकसम्म उल्लेख गर्नुपर्नेछ। आह्वान गरिएको रकम बाँडफाँट गर्दा एकल ब्याजदर कायम गरी सोही दर वा सोभन्दा कम दरमा बोल गर्नेहरूलाई प्राथमिकता दिइनेछ। यदि समान ब्याजदरमा माग बढी भएमा प्रो–राटा आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ।
बोलकबोल स्वीकृत भई पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई २.५० प्रतिशत हर्जानासहित ६ महिनासम्मका लागि बैंकको अन्य बोलकबोलमा सहभागी हुन नपाउने गरी बन्देज लगाइने छ । थप जानकारीका लागि बैंकको मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
यसअघि ४ पटकसम्म २५र२५ अर्ब रुपैयाँ ऋणपत्र निकालेको राष्ट्र बैंक फेरी थप २० अर्ब र गत विहीबार १० अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको हो । दुई साताकै अवधिमा केन्द्रीय बैंकले एक वर्षे अवधिको १ खर्ब ५५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याइसकेको छ ।
यसअघि २०८३ पुस १४ गते, २०८३ पुस १६ गते, २०८३ पुस २० गते र २०८३ पुस २२ गते सावाँ भुक्तानी गर्ने गरि २५र२५ अर्ब रुपैयाँको ऋणपत्र निस्काशन गरिएको थियो । त्यसपछि २०८२ पुष २३ सावाँ भुक्तानी गर्नेगरि थप २० अर्ब र २०८३ पुस २४ गते परिपक्व हुने गरि अर्को १० वर्ष रुपैयाँको एक वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको हो ।
