मुल नेतृत्वविना भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन, महामन्त्रीद्वयले गरे उद्घाटन

विशेष महाधिवेशनको पक्षमा पार्टी सभापति शेरबहादुर देउवानिकट मानिएका नेताहरू उदयशमशेर राणा, विनोद चौधरी, डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाहलगायतको उपस्थिति छ ।

काठमाडौ‌ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।

विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्ज्वलन र विरुवामा पानी हालेर महाधिवेशनको औपचारिक सुरुवात गरेका हुन् । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा बृहत् मञ्चको व्यवस्था गरिएको छ भने मञ्च अगाडि हजारौँ सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति छ । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गरेका छन् ।

विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भोली पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । गत असोज २९ गते कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो ।

विशेष महाधिवेशनको पक्षमा पार्टी सभापति शेरबहादुर देउवानिकट मानिएका नेताहरू उदयशमशेर राणा, विनोद चौधरी, डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाहलगायतको उपस्थिति छ । त्यस्तै, कांग्रेस नेता डा. शेखर कोइराला निकट मानिएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायतका नेताहरुको पनि उपस्थिति छ । यद्यपी कोइराला स्वयं भने उपस्थित नभएर कांग्रेसको विधान जोगाउन आफू लागि परेको एक भिडियो पठाएका छन् ।

विशेष महाधिवेशनलका सन्दर्भमा पार्टीको संस्थापन पक्षले भने असहमति जनाएको छ । पार्टीको संस्थापन पक्षले नियमित महाधिवेशनको तालिका तोकेर प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ ।