होटल गरिमाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

आईपीओ निष्कासनले होटलको दीर्घकालीन विकास, कम्पनीको पारदर्शिता अभिवृद्धि तथा नेपाली आतिथ्य उद्योग र पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

काठमाडौं । कोशी प्रदेशको इटहरीमा अवस्थित पाँचतारे होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको होटल गरिमाले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता सेयर निष्कासन गरि ४० करोड रुपैयाँ पूँजी संकलन गर्ने योजना बनाएको छ ।

आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि होटल गरिमाले लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धमा होटल गरिमाका तर्फबाट प्रबन्ध सञ्चालक विनोद पौडेल र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच पुस २५ गते लक्ष्मी सन्राइज क्यापिटलको कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

कम्पनीका अनुसार आईपीओ निष्कासनको यो कदमले होटलको दीर्घकालीन विकास, कम्पनीको पारदर्शिता अभिवृद्धि तथा नेपाली आतिथ्य उद्योग र पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । विशेषगरी कोशी प्रदेशमा लगानी अवसर विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

सोल्टी होटल एण्ड रिसोर्ट समूहद्वारा व्यवस्थापन गरिएको यस होटलमा एक रोयल सुइट, आठ सुइट, आठ एक्जेक्युटिभ रुम, ५८ डिलक्स रुम र सात स्टुडियो रुम रहेका छन् । साथै होटलमा दुईवटा व्यांकेट हल, तीन सेमिनार हल, ‘नुवाड थाई’ ब्रान्डबाट सञ्चालनमा रहेको स्पा, जिम, रेस्टुरेन्ट तथा क्याफे लाउन्जसहित आधुनिक सुविधाहरू उपलब्ध छन् ।