विजय लघुवित्तको एफपीओ आजदेखि खुला, सर्वसाधारणले १००० कित्तासम्म आवेदन दिन सक्ने

विजय लघुवित्त वित्तीय संस्थाले आज अर्थात पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गरेको छ।सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

काठमाडौ । विजय लघुवित्त वित्तीय संस्थाले आज अर्थात पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ)खुला गरेको छ। लघुवित्तले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको सेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जर भएपछि लघुवित्तको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। मर्जरपश्चात संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७४:३९ प्रतिशत र २५:६१ प्रतिशत कायम रहेकाले सो अनुपात समायोजन गर्न एफपीओ ल्याइएको हो।

लघुवित्तले प्रति सेयर १०० रुपैयाँ अंकित दरमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयर सार्वजनिक गर्नेछ, जसको कुल मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ रहेको हुन्छ।

उक्त एफपिओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ।सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ ५ गतेसम्म लम्बिनेछ। सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

एफपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट’ प्रदान गरेको छ, जसले लघुवित्तको वित्तीय दायित्व समयमा पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

यस एफपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालन गरिएको ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट पनि सि–आस्बा मार्फत आवेदन दिन सकिने व्यवस्था रहेको छ।