जाँचबुझ आयोगले गुण्डुमै लियो ओलीको बयान, मानव अधिकार आयोगमा ओली आँफै पुगे

जाँचबुझ आयोगमाथी प्रश्न उठाएका ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भने कार्यालयमै पुगेर बयान दिएका छन् । मानव अधिकार आयोगले ओलीसँग आइतबार अपराह्न जेन-जी आन्दोलनमा भएको दमन, विध्वंश र हिंसाबारे सोधपुछ गरेको हो ।

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिएको छ ।

गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिनकालागि आयोगको टोलीले भक्तपुरको गुण्डूस्थित ओलीको निवासमै पुगेर बयान लिएको हो । सात दिनभित्र बयानमा आउनुपर्ने व्यहोराको पत्रसहित पुगेको टोलीलाई पत्र बुझेसँगै ओलीले तत्कालै विभिन्न ६० वटा प्रश्नमा केन्द्रित रहेर गुण्डूमै लिखित बयान दिएर पठाएका हुन् ।

तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले कार्यालयमै बोलाएर बयान लिएको थियो । तर ओलीले किन आयोगमा गएको भन्दै सार्वजनिक रुपमै लेखकलाई पश्न गरेका थिए । त्यति मात्रै होइन ओलीले सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएर बयान दिन अस्वीकार गरेका थिए । ओलीकै अडानअनुसार आयोगको टोली गुण्डूमै पुगेर बयान लिएको हो ।

कार्कीले आफू आयोगको संयोजक हुनुअघि नै दलका नेताहरू र तत्कालीन सरकारका अधिकारीबारे धारणा बनाइसकेको भन्दै आयोगका संयोजक कार्कीको योग्यता र निष्पक्षतामाथि पुर्वप्रधानमन्त्री ओलीले गम्भीर प्रश्न उठाएका थिए ।

जाँचबुझ आयोगमाथी प्रश्न उठाएका ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भने कार्यालयमै पुगेर बयान दिएका छन् । मानव अधिकार आयोगले ओलीसँग आइतबार अपराह्न जेन-जी आन्दोलनमा भएको दमन, विध्वंश र हिंसाबारे सोधपुछ गरेको हो । अढाइ घण्टासम्म आयोगमा बसेर बयान दिएका ओलीले ३५ वटा प्रश्नहरूको सामना गरेको र ती सबैको जवाफ दिएका दिएका थिए । 

ओली प्रधानमन्त्री भएका बेला भदौ २३ गते काठमाडौं र इटहरीमा १९ जनाले ज्यान गुमाएका थिए । भोलिपल्ट भदौ २४ गते मच्चाइएको विध्वंशका क्रममा देशभर ७८ अर्ब रुपैयाँभन्दा बढी सरकारी र निजी भौतिक संरचना ध्वस्त पारिएको थियो । दुई दिनको उत्रिएका २३ जनासहित ७६ जनाले ज्यान गुमाएका थिए । त्यसक्रममा १० जना कैदी पनि मारिएका थिए । त्यस्तै लुटपाट र आगजनीमा उत्रिएकाहरूले पनि ठूलो संख्यामा ज्यान गुमाउन पुगेका थिए ।