जेनजी आन्दोलनमा क्षतिः २३ अर्ब ७६ करोड दाबी, ४ महिनामा एक चौथाई भुक्तानी
सम्पत्ति बीमातर्फ ७१२ वटा बीमालेखबाट १९ अर्ब ५ करोड दाबी परेकामा ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ २ हजार ३२१ वटा बीमालेखबाट ३ अर्ब ४६ करोड १६ लाख बराबरको दाबी परेकामा १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको क्षतिमा २३ अर्ब ४७ करोड रुपैयाँको दाबी परेकामा इन्स्योरेन्स कम्पनीहरुले हालसम्म ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ मात्र भुक्तानी गरेका छन् । आन्दोलनमा भएको भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कूल ३ हजार ३१६ वटा बीमा दाबीको परेको थियो ।
नेपाल बीमा प्राधिकरणका अनुसार सम्पत्ति बीमातर्फ ७१२ वटा बीमालेखबाट १९ अर्ब ५ करोड दाबी परेकामा ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ २ हजार ३२१ वटा बीमालेखबाट ३ अर्ब ४६ करोड १६ लाख बराबरको दाबी परेकामा १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिव ५५ करोड ३९ लाख रुपैयाँ दाबी रकममध्ये करिव ८ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये करिव १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिव ५ करोड रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिव ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कूल पुनर्बीमा दाबी रकम करिव १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क कम्पनीबाट प्राप्त भएको छ । प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरू छन् भने दुई वटा पुनर्बीमा कम्पनी छन् ।