पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश, दियो यस्ता कारण
प्रतिवादीहरूबिच भएको फोन संवादको अडियो रेकर्ड र त्यसको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनलाई पहिलो आधार मानेको छ । प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, रजिता श्रेष्ठ र सुजन कुमार तामाङले गुप्तालाई पठाएका म्यासेजहरूलाई दोस्रो आधार मानेको छ ।
काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ ।
बुधबार विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले वेबसाइटमा अपडेट गरेको विवरण अनुसार उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश भएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनु पर्ने आदेश गरेको हो ।
अदालतले गुप्तालाई थुनामा पठाउने पहिलो आधारको रूपमा अडियो र भिडियोः प्रतिवादीहरूबिच भएको फोन संवादको अडियो रेकर्ड र त्यसको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदन मानेको छ । त्यस्तै दोस्रो आधारमा अदालतले प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, रजिता श्रेष्ठ र सुजन कुमार तामाङले गुप्तालाई पठाएका म्यासेजहरूलाई आधार मानेको छ ।
त्यस्तै तेस्रो आधारमा गरिमा विकास बैंकको स्टेटमेन्ट, जहाँ यामकुमारी गुरुङको खातामा रकम जम्मा गरिएको र झिकिएको देखिएको छ । चौथो आधारमा फोटोलाई प्रमाणको रूपमा लिएको छ । मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरकारी निवासमा रकम गणना गरिएको र गाडीमा राखिएको बेला खिचिएका तस्बिरहरू प्रमाणको रूपमा अदालतले लिएको छ । पाँचौँ आधारमा सह–प्रतिवादीको सुजन कुमार तामाङ लगायतले अख्तियारमा दिएको बयानलाई प्रमाणको रूपमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता विरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीमाथि कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरुवा थमौती गराइदिने र खम बहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति गराइदिने आश्वासन दिई घरजग्गा व्यवसायीसँग घुस लिएको आरोप छ ।