नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसनले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

कम्पनीले जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँको २८.५७ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने छ । क्यान्सर उपचारसहितका विशेष सेवाका लागि बढी पुँजी आवश्यक भएकाले आईपीओ निष्कासनको तयारी भएको हो ।

काठमाडौं । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसनले सर्वसाधारणका लागि प्राथमिक सेयर प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।कम्पनीले जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँको २८.५७ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने छ । बाँकी ७१.४३ प्रतिशत सेयर संस्थापक समूहको छुट्टाएको छ ।

फ्रन्टलाइन ब्रान्डमार्फत काठमाडौंको पुरानो बानेश्वरमा सञ्चालनमा रहेको अस्पतालमा हाल १०० शैयाको सेवा उपलब्ध छ । विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको र सेवा दायरा विस्तारका लागि २०० शैयाको थप अस्पताल भवन समेत निर्माणाधीन रहेको कम्पनीले जनाएको छ । क्यान्सर उपचारसहितका विशेष सेवाका लागि बढी पुँजी आवश्यक भएकाले आईपीओ निष्कासनको तयारी भएको फाउन्डेसनका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए ।

सोमबार सम्पन्न सम्झौतापत्रमा नोबेल कलेजका तर्फबाट अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङका सीईओ मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।