आईटी कम्पनीलाई विदेश लैजान २० हजार डलर सटही सुविधा दिइने, राष्ट्र बैंक धाउनुपर्ने व्यवस्थाको अन्त्य

विदेशी लगानीकर्ताको सम्बन्धित विदेशी लगानी भएको कम्पनी/उद्योगमा कायम रहेको चुक्ता पूँजीको दुई गुणासम्म विदेशी ऋण लिन सक्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा दिएको छ ।

केन्द्रीय बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ संशोधन गर्दै २० हजार डलर नि:सर्त सटही सुविधा दिने व्यवस्था गरेको हो । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ बमोजिम विदेशमा लगानी गर्न पाउने गरी छुट प्राप्त उद्योगले विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधा राष्ट्र बैंकले उपलब्ध गराउने विनियमावलीमा उल्लेख छ ।

अबदेखी औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुन बमोजिम आईटी उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी आईटी सम्बन्धी विदेशका क्षेत्र/उद्योगमा लगानी गर्न आवश्यक विदेशी मुद्रा सटही सुविधा पाउने छन् । आईटी उद्योगले कम्तीमा पछिल्ला तीन आर्थिक वर्ष सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनुपर्ने व्यवस्था छ । आईटी उद्योगले यस्तो सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा त्यस बराबर विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुने विनियममा उल्लेख छ । तर, विदेशमा सेवा निर्यात गर्ने कम्पनीले २० हजार डलरसम्म विदेशमा लगानी गर्दा सर्त पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

संशोधित विनियमावली अनुसार विदेशी मुद्रा सटहीका लागि अबदेखी केन्द्रीय बैंक जानुपर्ने छैन र विदेशी मुद्रा सटही सुविधा वाणिज्य बैंकमार्फत लिन सक्ने छन् । विदेशी लगानीकर्ताको सम्बन्धित विदेशी लगानी भएको कम्पनी/उद्योगमा कायम रहेको चुक्ता पूँजीको दुई गुणासम्म विदेशी ऋण लिन सक्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।