रबि बालेन सहमति र प्रमुख दलहरु निर्वाचनमा जाने प्रतिवद्धताले सेयर बजारमा उत्साह, नेप्से ४७ अंकले बढ्यो

आइतबार विहान झिसमिसेमै बालेन र रबिबीच आगामी निर्वाचनमा मिलेर जाने सहमति भएको थियो । सहमतिअनुसार आगामी प्रधानमन्त्री बालेन बन्ने र पार्टी लामिछानेले चलाउने सहित ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।


काठमाडौं । प्रमुख राजनीतिक दलहरु फागुन २१ ग्ते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने र युवाहरुको ढुकढुकी बनेका काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने मिलेर एउटै चुनाव चिन्हमा आगामी निर्वाचन लड्ने सहमतिले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । 

आइतबार विहान झिसमिसेमै बालेन र रबिबीच आगामी निर्वाचनमा मिलेर जाने सहमति भएको थियो । सहमतिअनुसार आगामी प्रधानमन्त्री बालेन बन्ने र पार्टी लामिछानेले चलाउने सहित ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उता, शनिबार मात्रै प्रधानमन्त्री सुशिला कार्कीसँग प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल आगामी निर्वाचन जान तयार भएको सन्देश दिएका थिए । अस्थिर स्थितिबाट गुज्रिरहेको अवस्थामा प्रमुख राजनीतिक दलबीच निर्वाचनमा सहभागि हुने सहमतिसँगै बालेन र रबिको एकताले सेयर बजारका लगानीकर्तामा उत्साह थपेको छ । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ ।

दुबै सकारात्मक सन्देशले सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) उकालो लागेको हो । केही समयदेखी शिथिलप्रायः रहेको बजार सूचक नेप्से आइतबार ४७.५५ अंकले बढेर २६३३.४२ अंकमा चढेको छ । यसअघि मंसीर ८ गते नेप्से सूचक ५०.४४ अंकले बढेको थियो । त्यसदिन सूचक २६५०.६६ अंकमा थियो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि साह रास्वपामा समाहित भएर लामिछानेलाई पार्टीको नेता स्वीकार्न तयार भएका छन् । नवयुवाहरुको चयनमा परेका दुई जनाबीच सत्ता सहकार्य गर्ने सहमतिले सेयर बजारका लगानीकर्तामा पनि उत्साह भरेको हो । त्यस्तै, यसअघि निर्वाचन सम्भव छैन भन्ने प्रमुख दलहरु पनि आगामी प्रतिनिधिसभाको चुनावका लागि तयार भएका कारण सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । यद्यपी यो उत्साह कति जान्छ अहिले नै भन्न सकिन् ।

आइतबार सेन्सेटिभ इण्डेक्स ८.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार १ करोड ३४ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्रीबाट ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँबराबरको कारोबार भएको छ । गत बुधबार ३ अर्ब २२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आइतबार मिड सोलु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.४९ प्रतिशत बढेको छ भने स्वारोजगार लघुवित्त वित्तीय संस्थामा गाभिने तयारीमा रहेको विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आइतबार यूनियन हाइड्रोपावर शीर्ष स्थानमा छ । यूनियन हाइड्रोपावरको २७ करोड ६० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।