रिलायन्स स्पिनिङको आईपीओमा ३३ गुणाको आवेदन
शुक्रबारसम्म ५ लाख ८३ हजार ८ सय ९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन परेको हो, जसको कुल मूल्य २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबर रहेको छ ।
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) मा माग गरिएको भन्दा ३२.९८ गुणा बढी आवेदन परेको छ । सीडीएससीका अनुसार आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म ५ लाख ८३ हजार ८ सय ९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन परेको हो, जसको कुल मूल्य २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबर रहेको छ ।
कम्पनीले पुस ७ गतेदेखि पुस ११ गतेसम्म सर्वसाधारणलाई ९ लाख २४ हजार ७ सय ६८ कित्ता सेयर निष्काशन गरेको थियो । बुक–बिल्डिङ विधिबाट निष्काशन गरिएको यस आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । आईपीओ खुलेको ४० मिनेटमै मागभन्दा बढी आवेदन परेको थियो ।
कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरले सेयर निष्काशन गरेको हो । यस आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल छ । कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।