पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क साढे १९ अर्ब, कसको कति ?
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्म कुल १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब साढे १९ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिरसम्म कम्पनीहरूले ११ लाख ६२ हजार १९६ बीमालेख बिक्री गरी १९ अर्ब ४८ करोड ९६ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्म कुल १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । यस कम्पनीले १ लाख ७ हजार ९२० बीमालेख जारी गरी दुई अर्ब २१ करोड ९२ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म शिखर इन्स्योरेन्सले दुई अर्ब १५ करोड पाँच लाख ४८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने एनएलजी इन्स्योरेन्सले एक अर्ब ५७ करोड ८२ लाख ७९ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
यसैगरी, चालु आवको यस अवधिमा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरूले साढे ४९ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरूले एक लाख ७९ हजार ५११ बीमालेख जारी गरी ४९ करोड ६० लाख पाँच हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले १३ करोड तीन लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १३ करोड २१ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १० करोड ७४ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १२ करोड ६० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको हो ।