काठमाडौं महानगरमा खर्चको बेहाल, ५ महिनामा कुल खर्च १८.४८ प्रतिशत हुँदा पूँजीगत १२.३९ प्रतिशत

काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत भई कार्यान्वयनमा रहेको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १८.४८ प्रतिशत बजेट खर्च गरेको छ ।

महानगरकी उपमेयर सुनिता डंगोलले आज १८ औं नगर सभामा कुल विनियोजनको १८.४८ प्रतिशत बजेट खर्च भएको जानकारी दिइन् । डंगोलकाअनुसार चालु खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत भएको छ । चालु आर्थिक वर्षको पुस ९ गतेसम्म समग्र ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि संक्षिप्त कोषमा व्यय भार पर्ने २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ र अन्य व्यय भार ६५ करोड रुपैयाँ गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत भई कार्यान्वयनमा रहेको छ ।

चालु आर्थिक वर्षमा संचिति कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ, जसमा आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ र बाँकी नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँडमार्फत प्राप्त हुने अनुमान थियो ।

क्षेत्रगत रूपमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको उपमेयर डंगोलले बताइन् । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको छ ।