सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकद्धारा पहिलो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला
जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आज (पुस ९ गते) देखि प्रारम्भिक प्राथमिक प्रस्ताव (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले नियामक नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो सेयर खरिदका लागि नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ त दरका ६८ हजार ९६७ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा पुस २३ गते हुनेछ भने ढिलोमा माघ ८ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने पुस १४ गतेभित्र आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस २३ गतेसम्म लम्बिनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिमको संकेत गर्दछ । कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल छ । स्थानिय बासिन्दाले ज्योती विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेडटावर, थापाथलीस्थित रजिष्टर्ड कार्यालय र दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट पनि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।