सेयर बजार सूचक सामान्य बढ्दा कारोबार रकम घट्यो, एसवाई प्यानलमा झुम्मिए लगानीकर्ता
बढेको बजारमा मंगलबार एसवाई प्यानल नेपालको सेयरमूल्य सर्वाधिक ७.०१ प्रतिशत बढेको छ भने सिटिजन लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ५.९७ प्रतिशत घटेको छ ।
काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंक बढेर बन्द भएको छ ।
पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से मंगलबार ३.२७ अंक बढेर २५८४.४९ विन्दुमा पुगेको छ । विहीबार, आइतबार र सोमबार गरि पछिल्लो तीन कारोबारमा ४४.४६ अंक घटेको नेप्से मंगलबार झिनो रुपमा बढेको हो । यद्यपी मध्यान्हतिर नेप्से घटेर २५६८.९४ अंकसम्म झरेको थियो । मंगलबार सेन्सेटिभ इण्डेक्स १.५७ अंक, फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंक बढेको छ ।
नेप्से बढेपनि मंगलबार कारोबार रकम भने सामान्य घटेको छ । सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मंगलबार ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको ७६ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बढेको बजारमा मंगलबार एसवाई प्यानल नेपालको सेयरमूल्य सर्वाधिक ७.०१ प्रतिशत बढेको छ भने सिटिजन लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ५.९७ प्रतिशत घटेको छ ।
मंगलबार सबैभन्दा बढी कारो भएको कम्पनीका रुपमा एसवाई प्यानल नेपाल रहेको छ र एसवाई प्यानलको ३० करोड ९८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । मंगलबार १३ समूहगत सूचकमध्ये ७ समूह सूचक बढेका छन् भने ६ समूह सूचक घटेका छन् ।