४ महिनामा बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ग्लोबल आईएमईले पहिलो स्थान लिँदा पुछारमा को ?

समग्रमा बैंकहरुको नाफा घटेपनि केही बेंकहरु भने नाफा बढाउन सफल देखिएका छन् । यसअवधिमा नाफा बढाउने बैंकहरुमा ग्लोबल आइएमई, एभरेष्ट, राष्ट्रिय वाणिज्य र सानिमा बैंक छन् ।

काठमाडौं । चालु आर्थिक वर्ष (आव) को चार महिनामा वाणिज्य बैंकहरुले १९ अर्ब ३७ करोड ५४ लाख ९० हजार रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले कात्तिकसम्म कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले कम हो । गत आवको कात्तिकसम्म बैंकहरुको २२ अर्ब २९ करोड ८६ लाख ६० हजार रुपैयाँ नाफा गरेका थिए ।

समग्रमा बैंकहरुको नाफा घटेपनि केही बेंकहरु भने नाफा बढाउन सफल देखिएका छन् । यसअवधिमा नाफा बढाउने बैंकहरुमा ग्लोबल आइएमई, एभरेष्ट, राष्ट्रिय वाणिज्य र सानिमा बैंक छन् । चार महिनाको अवधिमा रकमका आधारमा ग्लोबल आइएमई बैंकले २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा गरेको छ जुन गत आवको सोही अवधिको तुलनामा १८.९१ प्रतिशत बढी हो । कात्तिकसम्म धेरै नाफा कमाउनेमा ग्लोबल आइएमईपछि नबिल बैंक छ । नबिलले २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको भन्दा ८.३२ प्रतिशतले कम हो । गत वर्षपनि ग्लोबल आइएमई र नबिलले २ अर्ब बढी नाफा गरेका थिए ।

४ महिनामा एक अर्ब बढी नाफा गर्ने बैंकहरु भने संकुचित भएका छन् । गत वर्ष अर्ब क्लवमा रहेका स्ट्याण्डर्ड चार्टर्ड, प्रभू, नेपाल एसबीआई, नेपाल इन्भेष्टमेन्ट मेगा र लक्ष्मी सनराइज बैंक करोडमै सीमित छन् । गत वर्षको ४ महिनाको तुलनामा नाफा बढाएर राष्ट्रिय वाणिज्य बैंक अर्ब क्लवमा उक्लिएको छ । गत वर्षको तुलनामा १०५.२३ प्रतिशतले नाफा बढाएर राष्ट्रिय वाणिज्य बैंकले यसअवधिमा १ अर्ब १३ करोड ४४ लाख रुपैयाँ पुर्याएको छ । अर्ब क्लवमै रहेको एभरेष्ट बैंकको नाफा ०.२७ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ पुगेको छ । नाफा घटेपनि प्राइम कमर्सियल, एनएमबी र कुमारी बैंक भने अर्ब क्लवमै छन् । सानिमा बैंकको नाफा १९.६५ प्रतिशतले बढेर ७७ करोड २८ लाख रुपैयाँ छ ।

यसअवधिमा सबैभन्दा कम नाफा कमाउनेमा सिटिजन्स बैंक इन्टरनेशनल छ । सिटिजन्सको नाफा १ करोड ६४ लाख रुपैयाँ छ, जुन गत आवको सोही अवधिको तुलनामा ९६.२५ प्रतिशतले कम हो ।

पछिल्लो समय ऋण असुली प्रभावित भएका कारण प्रायः बैंकहरुको नाफा खुम्चिएको हो । लामो समयदेखि बैंकहरुको कर्जा प्रवाह घट्नुका साथै ऋण असुली समेत प्रभावित हुँदै आएको छ । हाल २० वाणिज्य बैंक सञ्चालनमा रहेकामध्ये १९ बंैंकहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन् ।

यस्तो छ बैंकहरुको नाफा