प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ३ जना पक्राउ


काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनसहित उच्च तहका ३ जना कर्मचारी पक्राउ परेका छन् । आइतबार सीईओ शेरचन, डीसीईओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको छ ।

करिब १ अर्ब रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । सीआईबीले कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन र सञ्चालक कुसुम लामाको कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँको कर्जाका विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।