२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा

मुल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन भन्दै उच्च अदालत पाटनले पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका महरालालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

काठमाडौं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् ।

२९ असोजमा काठमाडौं जिल्ला अदालतले गरेको आदेश उल्टाउँदै उच्च अदालत पाटनले २० लाख धरौटी तोकेको थियो । उच्च अदालतको आदेश लगत्तै पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका महरालाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै ‘मुल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन’ भनेको थियो ।

मुल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उच्चले उल्लेख गरेको छ ।

महरालाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरमार्फत तस्करी भएको ९ किलो सुनमा उनको संलग्क्ष्नता रहेको दाबी गर्दै मुद्दा चलाइएको थियो ।