सिक्लेस हाईड्रोपावरको १५.०७८९ प्रतिशत लाभांश, बोनस सेयरपछि शतप्रतिशत हकप्रद

कम्पनीको मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

काठमाडौं । सिक्लेस हाईड्रोपावरले आर्थिक वर्ष (आव) २०८१/८२ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

साथै, बैठकले २० औं र २१ औं दुई आर्थिक वर्षको साधारणसभा एकैपटक डाकेको छ । कम्पनीले सभा मंसिर २९ गते पोखरामा रहेको आभ्या क्लबमा बिहान ११ बजे डाकेको छ ।

साधारणसभामा लाभांश वितरणको प्रस्ताव पारित हुनुका साथै बोनस सेयर जारी भएपश्चात कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०/८१ र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने, आव २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समिति चयन गर्ने प्रस्ताव समेत साधारणसभाबाट पारित गर्नेछ । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम हुने सेयरधनीहरु सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन्  ।