मंसिरमा १० वाणिज्य बैंकले ब्याजदर घटाए, औषत ब्याजदर पनि घट्यो, कसको ब्याजदर कति ?
१० बैंकको ब्याजदर घटेसँगै कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको औषत ब्याजदर पनि घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर कात्तिकको तुलनामा मंसिरमा ०.१६ प्रतिशत विन्दुले घटेको छ । कात्तिकमा बैंकहरुले औषतमा ५.२० प्रतिशत विन्दुका दरले ब्याज दिएका थिए ।
काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार २० मध्ये १० वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १० बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिरका लागि मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । मंसिरका लागि सबैभन्दा बढी ब्याजदर घटाउनृ बैंकमा एनआईसी एशिया छ। एनआइसी एसियाले कात्तिकको तुलनामा ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । सूचनाअनुसार मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशियाले अधिकतम ५.७५ प्रतिशत ब्याज दिने छ । एनआइसीले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि ०.५ प्रतिशत विन्दुले घटाएर ४ प्रतिशतमा सीमित गरेको छ ।
१० बैंकको ब्याजदर घटेसँगै कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको औषत ब्याजदर पनि घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर कात्तिकको तुलनामा मंसिरमा ०.१६ प्रतिशत विन्दुले घटेको छ । कात्तिकमा बैंकहरुले औषतमा ५.२० प्रतिशत विन्दुका दरले ब्याज दिएका थिए । मंसिरमा भने औषत ब्याजदर घटेर ५.०४ प्रतिशत विन्दुमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि समीक्षा अवधिमा ०.०७ प्रतिशत विन्दुले घट्न गएको छ ।
कुन बैंकमा पाइन्छ बढी ब्याज ?
व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले दिने छ । ग्लोबल आइएमईले अधिकतम ६ प्रतिशतसम्म ब्याज दिनेछ । सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकल अधिकतम ४.७ प्रतिशत ब्याज दिने छ ।