सरकारको कामप्रति प्रधानमन्त्री कार्की असन्तुष्ट, कामको गति बढाउन मातहतका निकायलाई निर्देशन
सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि मन्त्री, सचिवलगायत प्रशासनिक नेतृत्वको अहं भूमिका हुन्छ । आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २०८२/८३ को तीन महिने कार्यप्रगति सन्तोषजनक नभएकोे भन्दै असन्तुष्टि पोखेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकमा प्रधानमन्त्री कार्कीले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली परिवर्तन गरेर कामको गति बढाउन मातहतका निकायलाई निर्देशन दिएकी छिन् ।
बजेटको पूँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेको भन्दै प्रधानमन्त्री कार्कीले आर्थिक वर्षको बाँकी अवधिमा थप गति बढाउन ‘भौतिक पूर्वाधार निर्माण गर्ने र पूँजीगत खर्चको दायित्व बढी भएका मन्त्रालयहरूले आ-आफ्नो कार्यशैली बदल्नुपर्नेमा जोड दिइन । ‘आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि मन्त्री, सचिवलगायत प्रशासनिक नेतृत्वको अहं भूमिका हुन्छ । आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु ।’
सरकारका कामबाट जनताको आकाङ्क्षा सम्बोधन नभएका कारण नवयुवा पुस्ताको आक्रोश विध्वंसात्मक रूपमा विस्फोट भएको बताउँदै प्रधानमन्त्री कार्कीले तत्कालकै घट्नाबाट समेत सरकारी संयन्त्रले पाठ नसिक्ने हो भने मुलुक कसरी अगाडी बढ्छ भनेर प्रश्न गरेकी छन् । प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘म सबै माननीय मन्त्री, सचिवलगायत सबै जिम्मेवार अधिकारीहरूलाई जनताको अपेक्षा सम्बोधन हुनेगरी काम गर्न, आफ्ना मातहतका निकायहरूलाई प्रभावकारी रूपमा परिचालन गरी जनतालाई परिवर्तन र सुधारको महसुस हुनेगरी नतिजा निकाल्न आह्वान गर्दछु ।’
समीक्षा वैठकमा प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव एकनारायण अर्याल, लगानी बोर्डका नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, विभिन्न मन्त्रालयका सचिवलगायतका अधिकारीहरुको उपस्थिति थियो ।