राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभाको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, प्रदेशभित्रका स्थानीय निकायका अध्यक्ष र प्रमुख तथा उपाध्यक्ष र उपप्रमुख रहेका छन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ र अध्यक्ष र प्रमुख तथा उपाध्यक्ष र उपप्रमुखको मत भार १८ हुन्छ ।

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुसँग छलफल गरेको छ ।

आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलका प्रतिनिधि सहभागी छन् ।

आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका विषयमा दलहरूसँग परामर्शपछि निर्वाचन कार्यक्रम ल्याइने बताए ।

सभाको सदस्यको पदावधि सकिनु ३५ दिन अघि निर्वाचन हुनुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २१ गते सकिँदैछ । त्यसमध्ये १८ सदस्यमा निर्वाचन हुनेछ भने एक सदस्य राष्ट्रपतिबाट मनोनित हुनेछन् ।