पुर्वमन्त्री दिपक खड्काले कब्जा गरेको भनिएको स्काउटको संरचनामा महानगरको डोजर
स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ ।
काठमाडौं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएको छ ।
आज बिहान महानगर प्रहरीहरु डोजरसहित पुगेर संरचनाहरु भत्काईएका हुन् । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले २० कात्तिकमा सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । अन्यथा त्यहाँ बनाइएका भवन तथा सामान जफत गर्ने चेतावनी दिइएको थियो । पछिल्लो ताकेताको म्याद आज सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन् ।
स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ ।
स्काउटका दुई वटा व्यवसायिक भवनसमेत खड्का ल्याण्डले भाडा लगाइरहेको छ । दुई व्यवसायिक भवनमध्ये पहिलोमा ३६ र दोस्रोमा १२ वटा पसल रहेका छन् । यी दुई भवनमध्ये पहिलो भवन २०६३ र दोस्रो २०६४ सालमा टेन्डर गरेर खड्का ल्याण्ड डेभलपमेन्टलाई दिइएको थियो ।