जेन्जी आन्दोलनमा भएको क्षतिको बीमा दावीमध्ये साढे ३ अर्ब अग्रिम भुक्तानी, कसको कति ?
राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीले बीमा दाबीको कुनै पनि रकम अग्रिम भुक्तानी गरेका छैनन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ५९ लाख रुपैयाँ र भारतीय बिमा कम्पनीको शाखा नेशनल इन्स्योरेन्स कम्पनीमा ८ करोड ६३ लाख रुपैयाँ बीमा दावी परेको छ ।
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको भौतिक क्षतिमा २३ अर्ब ४६ करोड रुपैयाँको बीमा दाबी परेकोमा हालसम्म ३ अर्ब ६८ करोड रुपैयाँ अग्रिम भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणले दिएको जानकारी अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी अग्रिम भुक्तानी गरेको छ । त्यसो त सबैभन्दा बढी दावी माग पनि सिद्धार्थ प्रिमियरमै छ । सिद्धार्थ प्रिमियरमा ५ अर्ब ५१ करोड रुपैयाँको दावी भुक्तानी माग गरिएको छ ।
तर, दोस्रो ठूलो माग दावी भएको दि ओरियन्टल इन्स्योरेन्सले भने झिनो रकम मात्रै अग्रिम भुक्तानी गरेको छ । दि ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब ४४ करोड रुपैयाँबराबरको माग दावी भएकोमा कम्पनीले ४ करोड १९ लाख रुपैयाँ मात्र दाबी भुक्तानी गरेको छ । प्राप्त विवरणअनुसार हालसम्म राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीले बीमा दाबीको कुनै पनि रकम अग्रिम भुक्तानी गरेका छैनन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ५९ लाख रुपैयाँ र भारतीय बिमा कम्पनीको शाखा नेशनल इन्स्योरेन्स कम्पनीमा ८ करोड ६३ लाख रुपैयाँ बीमा दावी परेको छ । हाल नेपालमा १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।
त्यस्तै, २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ मागदावी रहेको आइजिआई इन्स्योरेन्स कम्पनीले ५५ करोड ४४ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको छ । त्यसैगरि शिखर इन्स्योरेन्स कम्पनीले ६६ करोड २६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ८ करोड ७४ लाख, नेको इन्स्योरेन्स कम्पनीले १९ करोड ३९ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २७ करोड ४३ लाख, सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ७ करोड ६४ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २ करोड ३८ लाख र एनएलजी इन्स्योरेन्स कम्पनी कम्पनीले ६ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले ११ करोड ५७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले ३१ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ५२ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले ३ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले २२ लाख, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले १२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।