पाँच सचिवको सरुवा, राजश्व सचिवमा आए भूपाल बराल

अर्थमा केही समययता राजस्व सचिव रिक्त छ । उनी अहिले बागमती प्रदेशको प्रमुख सचिव छन् । बरालले लामो समय अर्थ प्रशासनमा रहेर काम गरिसकेका छन् ।

काठमाडौं । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका सचिवको सरुवा गरेको हो ।

अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी भूपाल बरालले पाएका छन् । अर्थमा केही समययता राजस्व सचिव रिक्त छ । उनी अहिले बागमती प्रदेशको प्रमुख सचिव छन् । बरालले लामो समय अर्थ प्रशासनमा रहेर काम गरिसकेका छन् ।

लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ सचिवमा बढुवा भएर लामो समयदेखि पदस्थापन हुन बाँकी रहेका अतिरिक्त सचिव कृष्णप्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ भने सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव कमल पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा (अतिरिक्त) सचिवमा सरुवा गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कायम मुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।