मेलम्चीको मुहानमा सहमति भएसँगै आजदेखि काठमाडौँमा नियमित पानी पथान्तरण हुने

कात्तिक २० गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा नै पुगेर मागहरू पूरा नभएको भन्दै पीडितले पानी पथान्तरण रोकेर आन्दोलन थालेका थिए ।

काठमाडौं । एकसातादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौँमा पथान्तरण हुने भएको छ ।

आन्दोलनरत पीडित र सरकारबीच गएराति भएको वार्ता सफल भएपछि अवरोध हटाइएको हो । कात्तिक २० गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा नै पुगेर मागहरू पूरा नभएको भन्दै पीडितले पानी पथान्तरण रोकेर आन्दोलन थालेका थिए । वार्ता सफल भएपछि आन्दोलनरत पीडितहरूले मुहान क्षेत्र खुला गर्ने निर्णय गरेका छन्, जससँगै आजदेखि मेलम्चीको पानी पुनः काठमाडौँमा पथान्तरण हुने भएको हो ।

उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थिति भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ । मंगलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।