नेपाल बैंकको वितरणयोग्य नाफा ५७ करोड ऋणाात्मक, अरु सूचक कस्ता ?
बैंकको कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशत र सञ्चालन नाफा ३२.८१ प्रतिशत बढेपनि खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घटेको छ ।
काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत (आव) को सोही अवधिको तुलनामा सामान्य घटेको छ ।
चालु (आव) को पहिलो ३ महिनासम्ममा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा गत (आव) को सोही अवधिको ६० करोड २१ रुपैयाँको तुलनामा २.३१ प्रतिशत कम हो ।
खुद ब्याज आम्दानी र खुद ब्याज आम्दानी बढेपनि चालु कर खर्च बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.३८ प्रतिशत बढेर २ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १८.२३ प्रतिशतले घटेर २४ करोड १४ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशत र सञ्चालन नाफा ३२.८१ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा भने ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३८ पैसा घटेर १६ रुपैयाँ १ पैसामा सीमित भएको छ । असोजसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा छ भने मूल्य आम्दानी अनुपात १५.०५ गुणा छ । १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल बैंकको जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोजसम्ममा ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।