विदेशी लगानीकर्ता परिषद् गठन गर्न अर्थमन्त्री खनाललाई निक्कीको सुझाव

हालै भारत सरकारले गरेको जीएसटी पुनरवलोकनले नेपाल तथा भारतबीच एउटै वस्तुमा मूल्य अन्तर अझ फराकिलो पार्ने तथा अनधिकृत व्यापार बढ्ने जोखिम देखिएकाले परिषद् आवश्यक देखिएको केसीको भनाइ छ ।

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले अर्थमन्त्री रामेश्वर खनाललाई विदेशी लगानीकर्ता परिषद् गठन गर्न सुझाव दिएको छ ।

निक्कीका अध्यक्ष सुनिल केसीले बिहीबार अर्थमन्त्री खनाललाई भेटेर नेपालमा रहेका भारतीय लगायत सबै बहुराष्ट्रिय कम्पनीले भोगिरहेका समस्या तथा अनधिकृत व्यापार नियन्त्रणका विषयमा जानकारी गराउँदै लगानीकर्तालाई सहजीकरण गर्ने उद्देश्यले परिषद् गठन गर्न सुझाएका हुन् ।

हालै भारत सरकारले गरेको जीएसटी पुनरवलोकनले नेपाल तथा भारतबीच एउटै वस्तुमा मूल्य अन्तर अझ फराकिलो पार्ने तथा अनधिकृत व्यापार बढ्ने जोखिम देखिएकाले परिषद् आवश्यक देखिएको केसीको भनाइ छ ।

अर्थमन्त्री खनालले लगानीकर्ताको सहजताका लागि परिषद् गठन गर्ने विषयमा मन्त्रालयले छलफल अगाडि बढाउने आश्वासन दिए ।

‘नेपाललाई रोजगारी सिर्जना मात्र होइन, निर्यात प्रवर्धन र अर्थतन्त्र विस्तारका लागि पनि विदेशी लगानी आवश्यक छ,’ खनाललाई उद्यृत गर्दै निक्कीले जारी गरेको प्रेस नोटमा भनिएको छ ।