एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ ?
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । एसवाई प्यानल नेपालले आज (कात्तिक १९ गते) देखि सर्वसाधारणमा प्राथमिक सार्वजनिक निस्काशन (आइपीओ) निस्काशन गर्न लागेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ४ लाख ९७ हजार ९२ कित्ता बाँडफाँड गरिसकेको छ।
कम्पनीले बाँकी कित्तामध्ये कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको हो ।
यसमा सर्वसाधारणले आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ अर्थात् यो आईपीओ भर्न कम्तीमा १ हजार र बढीमा ५० लाख रुपैयाँसम्म लाग्नेछ । यसमा आज बिहान १० बजेदेखि यही कात्तिक २३ गते बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्राएनपी–आईआर बीबीप्लस’ रेटिङ दिएको छ जसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम सुनिश्चितता रहेको संकेत गर्छ । यसमा आईपीओ निष्कासन तथा बाँडफाँडको काम प्रभु क्यापिटलले गर्नेछ ।