९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’
प्रज्ञा भवनमा बसेको नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ ।
प्रज्ञा भवनमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन् । उनका अनुसार चिन्ह पाँचकुने तारा रहनेछ।
कात्तिक १६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले एकता प्रक्रियाको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
लगत्तै कात्तिक १७ गते गोपाल किराँती अध्यक्ष रहेको देशभक्त समाजवादीले पनि एकता प्रक्रियामा सहमत हुँदै माओवादी केन्द्रका अध्यक्ष दाहालसँग किराँतीले सम्झौता गरेका थिए ।